|

सिँवामा भलिबल प्रशिक्षार्थी तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २४ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा भलिबल प्रशिक्षार्थी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालित एक महिने प्रशिक्षार्थी तालिम शनिबार सम्पन्न भएको हो ।
गाउँमा रहेका भलिबल खेलाडीको स्तरवृद्धि गर्ने साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले भलिबल प्रशिक्षार्थी तयारी कोचिङ तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाका अनुसार पालिकाको दुई लाख ५० हजार रुपियाँ खर्च गरेर तालिम सञ्चालन गरिएको थियो । तालिम लिङ्खिमस्थित सिँवा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको थियो ।
सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार गाउँपालिकाका ६ वटै वडाबाट दुई महिलासहित १९ जना प्रशिक्षार्थी सहभागी भएका थिए । प्रशिक्षकद्वय पदमसुन्दर अन्छङ्बो र भूमिराज तबेबुङले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको गौतमले जानकारी दिनुभयो । भलिबल तालिमको समापनपछि फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको बताइएको छ ।
यता पछिल्लो समय भलिबल खेललाई प्रवर्ध्दन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहले मोटो–मोटो राशीको नगद पुरस्कार व्यवस्था गर्दै अन्तर–पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । भलिबल प्रतियोगिता आयोजना गर्दै आएका स्थानीय तहले तीनदेखि पाँच लाख रुपियाँसम्म नगद पुरस्कारको व्यवस्था गर्ने गरेका छन् ।

Similar Posts