पाथीभरा याङवरकद्धारा बिपन्न नागरिकको निःशुल्क स्वास्थबीमा गर्ने घोषण,शिक्षा सुधारका लागि तीन खम्बे नीति,हरेक वडामा एक–एकवटा गौरवका आयोजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले बिपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य उपचारलाइ सर्बसुलभ बनाउन बिपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । गाउँपालिकाले मृगौला,मुटु तथा क्यान्सर र टाउको सम्वन्धी गम्भिर प्रकृतिको रोगबाट ग्रसित रोगीहरुको उपचारमा सहयोग गर्ने गरी बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउने अभियानलाइ प्रोत्सासहित गर्ने तथा ‘सुत्केरीसंग उपाध्यक्ष’कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । स्वास्थ्य संस्थाहरुको भवन तथा जनशक्तिको क्षमता प्रवलीकरणका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको जनाएको छ ।
शिक्षा सुधारका लागि तीन खम्बे नीति
पाथीभरा याङवरक गाउँपालिकाले शिक्षा सुधारका लागि तीन खम्बे नीति अघि सारेको छ । उसले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि जनप्रतिनिधिसंग बिद्यार्थी,जनप्रतिनिधिसंग अभिभावक र अभिभावक–शिक्षक साक्षात्कार कार्यक्रम अघि सारेको छ । यो साक्षात्कारका क्रममा गुणस्तरीय शिक्षाका समस्या,चुनौति र समाधानका उपाय खोजिने छ भने बिद्यार्थीमा सिकाइ सुधारका लागि बिशेया योजना बनाउन र रचनात्मक अध्ययनशैली अपनाउन प्रेरित गरिने छ । पालिकाले नमूना सिकाईका लागि नमूना कक्षा कोठा कार्यक्रम अघि सारेको छ । प्रविधिमैत्री सिकाइलाइ प्रोत्साहन गर्न सबै बिद्यालयलाइ कम्युटर र प्रिन्टर सहितका सामग्रीयुक्त बनाइने छ ।
अब हरेक वडामा एक–एकवटा गौरवका आयोजना
गाउँपालिकाले हरेक वडाका गौरवको आयोजना सञ्चालन गर्ने भएको छ । सञ्चालनमा आउने आयोजनामध्ये कुनै एक बिशिष्ट,महत्वपूर्ण,बढी लाभ दिने र दीर्घकालिन योजनालाइ गौरवको योजनाको रुपमा अघि सारिने गाउँपालिकाले घोषणा गरेको छ । १५ लाख भन्दा माथिका योजना ठेक्कामार्फत सञ्चालन गर्ने भएको छ । ५ लाख भन्दा कम लागतका योजना सञ्चालन नगर्ने पालिकाले नीति लिएको छ । तर,स्थानीय स्तरमा नगरी नहुने कार्यका लागि माग र बिश्लेषणका आधारमा मर्मतसम्भार कोषबाट रकम खर्च गर्ने पालिकाले घोषणा गरेको छ । गाउँपालिकाले ५ बर्ष सम्म सञ्चालन गर्ने योजनाको एकिकृत सूची तयार पारी ति सब योजनाको बिस्तृत परियोजना प्रतिबेदन बनाउने भएको छ ।
लैंगिक हिंसा निवारण कोष र बाल कल्याण कोष बनाइने
लैंगिक हिंसामा परेका व्यक्तिलाइ उद्धार तथा राहतका लागि गाउँपालिकाले लैंगिक हिंसा निवारण कोष तथा बालबालिकाको संरक्षण र अधिकार जर्गेना गर्न बाल कल्याण कोष बनाउने भएको छ । यसलाइ प्रभावकारी रुपमा सञ्चालन गर्न कार्यविधि बनाइ व्यवस्थित गर्ने नीति गाउँपालिकाले लिएको छ । बाल कल्याण कोषमार्फत जोखिममा परेका बालबालिकालाइ आवश्यक सहयोग र संरक्षणका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले घोषणा गरेको छ ।
किसान सहयोग कार्यक्रम सञ्चालन
गाउँपालिकाले बालीहरुमा लाग्ने रोग किरा नियन्त्रणका लागि किसान सहयोग कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अन्र्तगत रोग किरा पहिचान गर्न,नियन्त्रणका लागि बिषादी सहयोग गर्न तथा अन्नबाली नष्ट नहुने उपाय र प्रविधि हस्तान्तरण गर्न सहयोग गरिने भएको छ । खेतिवालीको पकेट क्षेत्र निर्धारण गर्न गाउँपालिकाले माटो परीक्षणलाइ अनिवार्य गर्ने नीति अघि सारेको छ । यसका लागि गाउँपालिकाको पायकपर्ने स्थानमा माटो परीक्षण मिनी ल्याव स्थापना गर्ने घोषणा गाउँपालिकाले गरेको छ । कृषि पेशालाइ मर्यादित बनाउन कृषक सम्मान कार्यक्रम अघि सारिएको छ ।
पालिका र वडास्तरीय खेलकुद समिति बनाइने
खेल क्षेत्रको प्रवद्र्धन,युवा प्रतिभा पहिचान र खेल क्षेत्रका सम्भावना खोजी गर्न गाउँपालिकाले पालिका र वडास्तरमा खेलकुद विकास समिति बनाउने भएको छ । वडास्तरमा बनेका वडा खेलकुद विकास समितिले वडा क्षेत्रका खेल र खेलाडीको पहिचान गर्ने र आन्तरिक खेलकुद कार्यक्रम सञ्चालन गर्ने छ भने पालिकास्तरीय समितिले पहिचान भएका खेलाडीको खेल प्रवद्र्धन,उनीहरुको बृत्तिविकास र सम्भावनाको आधारमा अन्य क्लव तथा खेल संस्थाहरुमा आबद्ध गराउन पहल गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts