प्रदेश - १ | प्रवास समाचार  | ब्यानर न्युज  | समाचार

ताप्लेजुङ समाज युकेद्वारा अग्निपीडितलाई राहत वितरण

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ५ ।
ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई ताप्लेजुङ समाज युकेले राहत रकम वितरण गरेको छ । ताप्लेजुङ समाज युकेको पहलमा युकेमा संकलन गरिएको साढे सात लाख रुपियाँ बढी रकम अग्नि पीडितलाई वितरण गरिएको हो ।
ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल लगायतको उपस्थितिमा अग्निपीडित परिवारलाई कुल सात लाख ६१ हजार रुपियाँ वितरण गरिएको छ । आगलागी भएको साढे आठ महिनापछि ताप्लेजुङ समाज युकेले दोभानका अग्निपीडिलाई उक्त राहत रकम वितरण गरेको हो । समयमै राहत वितरण गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण ढिलो भएको संस्थाका अध्यक्ष दर्नालले बताउनुभयो ।
ताप्लेजुङ समाज युकेले अग्निपीडित ५७ परिवारलाई प्रतिपरिवार १३ हजार रुपियाँका दरले राहत रकम वितरण गरेको छ । राहत रकम मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू र निमित्त प्रमूख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहको उपस्थितिमा पीडितलाई वितरण गरेको पनि संस्थाले जनाएको छ ।
यता राहत रकम वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष चोङ्बाङले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोका अग्नि पीडितलाई सम्झेर सहयोग गरेकोमा संस्थाप्रति आधार प्रकट गर्नुभयो । आफ्नो पीडामा थोरै भए पनि मल्हमपट्टी गर्न सहयोग गरेकोमा ताप्लेजुङ समाज युकेलाई अग्नि पीडित परिवारको तर्फबाट गुरुप्रसाद पौडेलले धन्यवाद दिनुभयो ।
गत फागुन १८ गते मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा ५१ घर जलेको थियो । उक्त आगलागीबाट ४० करोड रुपियाँ बढी क्षति हुन पुगेको थियो । त्यस्तै ताप्लेजुङ समाज युकेले सोही समयमा सिरिजङ्घा गाउँपालिका–१ सिनाममा भएको आगलागीबाट पीडित बनेका चार परिवारलाई पनि ८० हजार रुपियाँ सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ ।

Similar Posts