| | |

दश वर्षमा ५५ सय पर्यटकले गरे कञ्चनजङ्घाको भ्रमण

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १३ ।
ताप्लेजुङस्थित विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा क्षेत्रको दश वर्षको अवधिमा साढे पाँच हजार पर्यटकले भ्रमण गरेका छन् । कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्नेमा केही नेपाली छन् भने ९५ प्रतिशत बढी विदेश पर्यटक रहेका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १० वर्षको अवधिमा कुल पाँच हजार ५०८ जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । उक्त सङ्ख्यामध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८०२ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । सबैभन्दा न्युन चालू आर्थिक वर्षमा ४३ जना पर्यटकले मात्र भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
गत वर्षदेखि सुरु भएको कोरोना महामारीको नराम्ररी असर पर्यटन क्षेत्रमा परेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण चालू आवको बैशाख मसान्त सम्ममा ११ जना नेपाली र ३२ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेश तिवारीले कोभिड–१९ कै कारण यसवर्ष पर्यटकको उपस्थिति हुन नसकेको बताउनुभयो ।
पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएकोमा गत वर्षदेखि सुरु भएको कोभिड १९ का कारण पर्यटकको उपस्थिति ह्वात्तै घटेको तिवारीले बताउनुभयो । उहाँका अनुसार गत आवको चैतदेखि उच्च रुपमा कोरोना महामारी सुरु भएसँगै पर्यटकको आगमन बन्द भए पनि उक्त वर्ष ६०८ जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले राखेको आर्थिक वर्ष २०६८/६९ यताको तथ्याङ्कलाई हेर्दा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढ्दै गएको पाइएको छ । कञ्चनजङ्घा क्षेत्रको भ्रमणसँगै हिमाल आरोहणको योजनामा पर्यटकको उपस्थिति हुने गरेको कञ्चनजङ्घा संक्षरण क्षेत्र कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार आव २०७३/७४ मा सबैभन्दा बढी शेर्पासहित ७२ जना आरोहीले कञ्चनजङ्घा हिमालको आरोहण गरेका थिए । आव २०७२/७३ मा पनि ३४ जनाले हिमालको सफल आरोहण गरेका पर्यटन विभाग पर्वतारोहण शाखाको तथ्याङ्क रहेको छ ।
यसरी विगत सन् १९५५ मा बेलायती नागरिक गेअर्गी क्रिष्फोटर जर्ज ब्याण्डले पहिलो पटक कञ्चनजङ्घा (८,५८६ मिटर) को चुचुरोमा मानव पाइला राखेपछि त्यसयता बिस्तारै पर्यटकको आकर्षण बढ्न थालेको पाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूका अनुसार आजभन्दा चार/पाँच वर्षअघि अर्थात आव २०७२/७३ र ०७३/७४ मा एकैचोटी धेरै सङ्ख्यामा आरोहीले हिमालको आरोहण गर्न सफल भएको सन्देशले पनि पर्यटकको उपस्थितिमा उल्लेख्य वृद्धि हुन थालेको थियो । पछिल्लो समय कोभिड महामारीले भने कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको उपस्थिति शून्य जस्तै भएको लिम्बूले बताउनुभयो ।

Similar Posts