वुहानमा क्‍वारेन्टाइन अवधि सकेर कोरोना उत्पत्तिबारे अनुसन्धान गर्दै डब्लूएचओ टोली

काठमाडौ,माघ १६ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को टोलीले क्वारेन्टाइन अवधि पूरा गरेको छ । माघ १ गते चीनको वुहान पुगेको डब्लूएचओको टिमले अब फिल्डमा गएर कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने समाचार संस्था एपीले जनाएको छ । दस जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान संस्था, अस्पताल र माछाबजारका मानिसहरूसँग अन्तर्वार्ता गर्ने जनाइएको छ । चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरसको महामारी फैलिएको बताइएको छ । टोली प्रमुख पिटर बेन एम्बरेकले ‘वास्तवमा के भएको थियो भन्नेबारे थाहा पाउनका लागि यो निकै लामो यात्रा तय गर्नुपर्ने’ बताएका छन् । उनले सुरुवाती चरणमै सबै कुरा थाहा हुन सम्भव नभएको जनाएका छन् । डब्लूएचओले कोरोना भाइरसको संक्रमण कसरी फैलियो भन्नेबारे चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । सुरुमा चीनले डब्लूएचओका अनुसन्धानकर्तालाई प्रवेश दिए पनि अनुसन्धान गर्न नदिने अडान राख्दै आएको थियो । चीनले शनिबार ती अनुसन्धानकर्तालाई अनुमति दिने जनाएको थियो । चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएकाले अनुसन्धान गर्न चाहेको डब्लूएचओले बताउँदै आएको थियो । तर विभिन्न देशले चीनले कोरोना भाइरसको स्वतन्त्र अनुसन्धान गर्न आनाकानी गरेको भन्दै आलोचना गरेका थिए । चीनले भने कोभिड–१९ को उत्पत्तिबारे गर्ने अनुसन्धानमा पूर्ण रूपमा सघाउन आफू तयार रहेको दोहो¥याउँदै आएको थियो ।

Similar Posts