कोभिडका कारण अधिकाँस उद्यम विकास लक्षित कार्यक्रम प्रभावित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २९ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत चालू आर्थिक बर्ष २०७६।०७७ मा सञ्चालन हुने अधिकाँस उद्यम विकास कार्यक्रम प्रभावित बनेको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन अनुसार कोभिड महामारीका कारण उद्यमीहरुलाई उनीहरुको आवश्यकता र प्राविधिक रायका आधारमा बितरण गरिने उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम पूर्णतया प्रभावित भएको हो । उद्योग अधिकृत देउप्रकाश तामाङका अनुसार चालू आवमा ३० जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । ३० लाख रुपैंयाको यो बजेट शीर्षकको एक रुपैंया पनि खर्च नभई प्रदेश सरकारमा फिर्ता गएको तामाङले जानकारी दिनुभयो । महामारीका कारण यो रकम खर्च नगरी फिर्ता लैजाने प्रदेश सरकारको नीतिगत व्यवस्था नै थियो । यस्तै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको ९८ लाख ५ हजार रुपैंया बजेट मध्ये १८ लाख ८४ हजार मात्र खर्च भएको छ । बित्तीय प्रगतिका हिसावले यो करिव साढे १९ प्रतिशत मात्र हो । यहिँ शीर्षकमा रहेको अर्को १८ लाख ३७ हजार रुपैंया बजेटमा भने ६१.७४ प्रतिशत अर्थात् ११ लाख ३७ हजार रुपैंया बराबरको बित्तीय प्रगति रहेको उद्योग कार्यालयले जनाएको छ । ७७ लाख ४२ हजार रुपैंया बजेट रहेको घरेलु तथा साना उद्योग विकास कार्यक्रममा ४४ प्रतिशत बित्तीय प्रगति भएको छ । यो शीर्षकमा ४३ लाख ३२ हजार रुपैंया बजेट खर्च भएको उद्योग अधिकृत तामाङले जानकारी दिनुभयो । यस्तै २३ लाख रुपैंया बजेट रहेको प्रदेश मन्त्रालयको बिभिन्न कार्यक्रममा भने ८६.९६ प्रतिशत बित्तीय प्रगति हासिल भएको उद्योग कार्यालयले बताएको छ । प्रदेश मन्त्रालयको २३ लाख रुपैंयाको बजेटमध्ये २१ लाख रुपैंया खर्च भएको सो कार्यालयले आफ्नो बित्तीय तथा भौतिक प्रगतिमा उल्लेख गरेको छ । कोभिड–१९ को प्रत्यक्ष प्रभावका बीचपनि उद्योग कार्यालयले उद्यमी सृजना तथा रोजगार कार्यक्रम,उद्योग प्रवद्र्धन कार्यक्रम,एक जिल्ला एक उत्पादन कार्यक्रम र उद्यमशिलता विकास तालिम भने सञ्चालन गरेको जनाएको छ । यस्तै सेवा प्रदायक संस्थामार्फत गरिने कार्यक्रम मध्ये कञ्चनजंघा महिला विकास केन्द्रमार्फत गरिने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको ठूलो हिस्सा सञ्चालन भएको र नेपाल केरियर ट्रेनिङ फउण्डेसन प्रालि जेभी ग्रामीण बिजनेस प्रमोसन प्रालिमार्फत हुने कार्यक्रमको प्रारम्भिक चरणका कार्यक्रममात्र भएको उद्योग कार्यालयले जनाएको छ ।
१२ लाख बढी राजश्व असुली
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ उद्योग दर्ता तथा नविकरणबाट १२ लाख बढी रकम राजश्व असुली गरेको छ । उद्योग अधिकृत तामाङका अनुसार आर्थिक बर्ष २०७६।०७७ मा उद्योग दर्ता तथा नविकरणबापत १२ लाख ७ हजार १५५ रुपैंया राजश्व असुली भएको हो । तामाङका अनुसार १ सय ५९ वटा उद्योग दर्ता भएकोमा ९९ वटाले नविकरण गरेका छन् । ४ वटा उद्योगले नामसारी गरेका छन् भने २५ वटा उद्योग सञ्चालकले प्रतिलिपि उतार गरी लगेका छन् । लामो समय सम्म दर्ता नविकरण सहितका प्रकृया पूरा नगर्ने ४ वटा उद्योगको दर्ता खारेजी गरिएको छ । एउटा उद्योगको ठाउँसारी प्रकृया पूरा भएको समेत तामाङले जानकारी दिनुभयो । चालू आवमा बाणिज्यतर्फ ४८ वटा फर्म दर्ता भएका छन् । बाणिज्यतर्फ भने ९२ वटाले नविकरण गर्दा ५ वटा उद्योग सञ्चालकले पूँजी बृद्धि,३ वटाको प्रतिलिपि उतार हुँदा ५ वटा बाणिज्यतर्फका उद्योगको दर्ता खारेजी गरिएको छ । उद्योगको प्रकृति हेरी ५ बर्ष सम्म दर्ता मान्य अवधि दिईएकोले संख्यात्मक हिसावले नविकरणको अवस्था कमजोर जस्तो देखिएपनि त्यस्तो नभएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका खरिदार निर्जा भट्टराईले बताउनुभयो । उहाँका अनुसार दर्ता भई नविकरण हदम्याद आउन बाँकी हुने उद्योगको संख्या बढी रहेकोले यस्तो अवस्था देखिएको हो ।