ताप्लेजुङमा असार पहिलो सातासम्ममा १० प्रतिशत रोपाइँ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ८ । ताप्लेजुङमा बन्दाबन्दी खुकुलो भएसँगै किसानहरु धान खेती अर्थात रोपाइँ गर्नतर्फ लागेका छन् । किसानले रोपाइँ सुरु गरेसँगै असारको पहिलो साताभित्र जिल्लामा करिव १० रोपाइँ भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि रोपाइँ सुरु गर्ने गरिन्छ । यसवर्ष रोपाइँ सुरु गर्ने समयमा वर्षा भई दिए पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण काम गर्नलाई सहज नभएको उनीहरुको भनाइ छ । रोपाइँ सुरु गर्ने समयमा वर्षाले साथ दिए पनि यसवर्ष कोभिड–१९ को त्रासले प्रभाव पारेको किसान बताउँछन् ।
किसानका अनुसार विगतका वर्षमा समयमा वर्षा भई दिँदा ताप्लेजुङमा जेठ मसान्तभित्र १० देखि १५ प्रतिशतसम्म रोपाइँ हुने गर्दथ्यो । यो वर्ष कोरोनाको महामाहरीसँगै बन्दाबन्दी (लकडाउन) भएपछि प्रयाप्त जनशक्तिको संलग्नतामा काम गर्न नमिलेपछि हाल रोपाइँ थोरै मात्र भएको फुङ्लिङ नगरपालिकाका एक अगुवा किसान बताउनुहुन्छ । बन्दाबन्दी खुकुलो भएपछि असारयता मात्र किसानले रोपाइँ धमाधम गर्न थालेका उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषिप्रसार अधिकृत विनय महर्जनका अनुसार जिल्लाको लेक क्षेत्रमा अहिले रोपाइँ कार्य तीब्र भइरहेको छ । अकिृत महर्जनले असार पहिलो साताभित्र करिव १० प्रतिशत रोपाइँ सकिएको बताउनुभयो । अहिले प्रत्येक स्थानीय तहबाट रोपाइँको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिकासहित मिक्वाखोला, मैवाखोला, फक्ताङ्लुङ, सिरिजङ्घा, मेरिङ्देन, आठराई त्रिबेणी लगायतका गाउँपालिकाको माथिल्लो क्षेत्रमा रोपाइँ कार्य हुँदै आएको छ । त्यस्तै सिदिङ्वा र पाथीभरा याङ्वरकका किसान रोपाई सुरु गर्ने तयारीमा रहेका बताइएको छ ।
जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा भने धान खेती गरिँदैन । सिङ्गो जिल्लाको खेतीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये आठ हजार ६५२ हेक्टरमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस जिल्लामा बेलगुटी, अट्टे, भँगेरे लगायतका स्थानीय जातको धान खेती किसानले लगाउने गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts