सार्वजनिक गाडी ग्यारेजमा थन्काएर अर्थतन्त्र उँभो लाग्दैन
हामीले सार्वजनिक यातायात बन्द गरेर राखेको तीन महिना बित्यो । चैत ११ देखि रोकिएका हाम्रा बसहरू कति ग्यारेजमा त कति खुला चौर र बाटोघाटोमा छन् । हामी कोरोनाव्याधि नियन्त्रणमा सरकारको सहयोगी बन्न चाह्यौं र सरकालाई त्यसैअनुसार सघाइरहेका पनि छौं ।
हामीले सरकारलाई ८३ दिन दिइसक्यौं । रोग नियन्त्रणका लागि विश्वमा सार्वजनिक सवारी धनीहरूले सरकारलाई यति लामो समय दिनु परेको सायदै होला । हामीले धैर्य गरेर सरकारका कुरा सुन्यौं, निर्देशन मान्यौं, सहयोग अझै जारी राखेका छौं ।
सरकारलाई सघाउँदा–सघाउँदै अबचाहिँ आफैं खाडलमा परिसक्यौं । हाम्रा गाडीका इन्जिन बसिसके । ब्याट्री बिग्रिसके, पार्टपूर्जामा खिया लागेसके । थन्किएका ठूला गाडी निकाल्नुअघि अब करिब एक लाख खर्चनुपर्छ । ग्यारेजहरूमा प्राविधिक पनि छैनन् । घर फर्किएकाहरू उतै छन् ।
हामीले अझै कतिन्जेल गाडीहरू थन्काएर राख्ने हो ? सरकारले ३ महिना रोग नियन्त्रणमा काम गरेर किन जनतातो रोजीरोटीको बाटो खुला गर्न सकेन ? प्रश्नहरू छन् ।
गाडी नचेलेपछि यसमा आश्रित मजदुरहरू दैनिक भत्ताविहीन भएका छन् । उनीहरूको चुलो बल्न छाडिसक्यो । अहिले ट्रक–ट्यांकरजस्ता केही मालवाहक गाडी र टिपर चलेका छन् । यात्रुवाहक सवारी धनीहरू आर्थिक रुपमा पूरै थला परिसकेका छन् ।
हाम्रा गाडी कहिलेकाहीँ उद्धारको काममा मात्र चलेका छन् । सरकारलाई अप्ठ्यारो पर्दा यसरी हामी एम्बुलेन्स पनि भएका छौं, तर त्यसबाट मिल्ने लाभ ज्यादै सानो र सीमित व्यवसायीको लागि मात्रै छ । सिङ्गो सार्वजनिक यातायात क्षेत्र समस्याको पहाडले थिचिएको छ ।